Thaha

Sunday 22 September - 7:19 am NST

पहिलेकै परिमाणमा भारत ग्यास दिन तयार , अब ग्यास सहज रुपमा भित्र्याउन सकिने आयल निगमको भनाई


काठमाडौं, २५ माघ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाललाई पहिलेकै परिमाणमा ग्यास दिने आसयसहितको पत्र पठाएको छ । नेपाल आयल निगमलाई पत्र लेख्दै सामान्य अवस्थामा जतिकै ग्याँस दिन सक्ने बताएको प्रवक्ता मुकुन्द घिमिरेले थाहासंचार नेटवर्कलाई जानकारी दिनुभयो । वीरगञ्ज रक्सौल नाका सहजभएपछि भारतले यस्तो प्रतिकृया दिएकोले अब ग्यास सहज रुपमा भित्र्याउन सकिने घिमिरेले बताउनुभयो । आजदेखि  बुलेट लोड हुने क्रममा रहेपनि उपभोक्ताले भने सहज रुपमा पाउन केही समय लाग्नेछ ।  पहिलेकै अनुपातमा लोड भएर आउन पनि एक÷दुइ हप्ता लाग्ने प्रबक्ता घिमिरेले बताउनुभयो । नाकाबन्दी चलिरहँदा आईओसीले कोटा अनुसार ग्यास दिएको थिएन । आयल निगमले मासिक २९ हजार मेट्रिक टन ग्यासको कोटा तोकेको थियो । आईओसीले त्यसैअनुसार दिने प्रतिबद्धतासहित इमेलमार्फत पत्राचार गरेको निगमले जनाएको छ ।

आयल निगमले कोटा बढाएर मासिक ३५ हजार मेट्रिक टन ग्यास लोड गर्न दिने माग गर्दै गत जनवरीमा आईओसीलाई पत्र लेखेको थियो । आईओसीले भने नाकाबन्दी अघिकै परिमाणमा ग्यास दिन सकिने भन्दै रिफाइनरी र त्यहाँबाट लोड दिने परिमाण पनि उल्लेख गरेको छ । आईओसीले सबैभन्दा धेरै  बरौनीबाट १३ हजार मेट्रिक टन ग्यास दिन सकिने बताएको छ ।